Nepali Lekh - प्लस टुको रमाइला दिन


हिजोमात्रै प्लस टु मा भर्ना भएजस्तो लाग्छ, आज यही प्लस टुलाई बिदाइ गर्ने समय आएछ । यी सुनौला दुई वर्ष कसरी सकिन लागे, अचम्म छ । यी दुई वर्ष मलाई दुई दिनजस्ता लागे, हिजो सुरु भयो, आज सकिँदै छ, भोलि फेरि अर्को वर्ष सुरु हुनेछ, समयले अर्कै मोड लिनेछ ।

एसएलसी परीक्षामा राम्रै अंक ल्याएपछि अरूको रोजाइजस्तै मेरो पनि विज्ञान नै रोजाइमा पर्‍यो । ११ कक्षामा भर्ना भइयो, राम्रैसँग पढियो पनि । साथीहरूसँग रमाइलो त कति गरियो कति ? ती रमाइला अनुभवलाई स्मरणमा राख्दै यी साथीहरूसँग छुटि्टनुपर्ने कुरा सम्झँदा प्रायः सबैलाई नरमाइलो लाग्न थालेको छ । इच्छा त छ, भावी शिक्षा पनि यिनै साथीहरूसँग कुनै एउटै शिक्षालयमा ग्रहण गर्न पाइयोस्, तर सबै इच्छा त के सार्थक हुन्थे र ? फरक-फरक योजना बनाएका साथीहरू फरक-फरक ठाउँमा छरिनुपर्छ नै, एक अर्काबाट टाढा हुनुपर्छ नै ।

हामीमध्येका केही साथी सधैं करिब आधा घन्टाअगाडि कलेज चौरमा प्रवेश गथ्र्यौं त्यो आधा घन्टाको समयमा केही समसामयिक पक्षमा छलफल गरिन्थ्यो । म, रमेश, विकास, कृष्ण, विष्णु, प्रकाशलगायत अन्य साथीले त्यो आधा घन्टाको समयलाई महत्त्वका साथ बितायौं । कहिलेकाहीँ कलेज छिटो जाँदा शिक्षकहरूले पनि किन छिटो आएको भनेर प्रश्न गर्नुहुन्थ्यो, तर हामीलाई त बिस्तारै बानी नै बसेको रहेछ ।

कक्षामा गयो, त्यता पनि त्यस्तै रमाइलो । सुरु-सुरुमा शिक्षकहरूसँग अलि डर लागे पनि पछि खुल्दै गइयो । रमाइलो पारामा शिक्षकहरूले पढाउन थालेपछि एकातिर पढेको पनि बुझिन्थ्यो, अर्कातिर त्यही पढाइमै रमाइन्थ्यो । अहिले त अब शिक्षकहरू पनि साथीजस्तै हुनुभएको छ, केही कुरा गर्न पनि डर मान्नुपर्ने अवस्था छैन । वास्तवमै शिक्षकहरूको सम्झना पनि कति आउनेछ, कति ।

यस्ता रमाइला अनुभवपछि पनि महसुस गर्न पाइएला, तैपनि किन-किन साथीहरूसँग टाढिन मन छैन । अबका दिनमा पनि सँगै पढ्न पाइयोस् जस्तो लाग्छ । अर्कातर्फ अहिले पढाएका शिक्षकहरूले नै पछि पनि पढाए हुन्थ्यो जस्तो लाग्छ । साँच्चै यो प्लस टु एक परिवारजस्तै लाग्यो, शिक्षक-शिक्षिकाहरू बाबुआमा, अनि विद्यार्थीहरू उहाँहरूका सन्तान, कलेज भवन एउटा घर हो । यस्तो पारिवारिक वातावरणमा पढियो, प्लस टुको शिक्षा ग्रहण गरियो अनि फेरि अर्को संसारमा प्रवेश गर्ने समय आयो ।

म एक रातको चरा रहेछु, रातभर कलेजमा बसें, बिहान कतै टाढा उडेर जान्छ । त्यो रातका सम्झनाहरू सधंै मेरो साथमा रहनेछ । वास्तवमै यो कलेज र कलेज परिवारसँग छुट्ने मन छैन, तर विवश छु, विवश छौँ । जे होस्, रमाइला सम्झनाहरूलाई पोको पारी राख्नु छ, आवश्यक परेको समयमा यही पोकोलाई खोल्दै सम्झना मेटाउनुपर्नेछ ।

एस.एस ( saptahik ).

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More